काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।

लघुवित्त वित्तीय संस्था कति प्रकारका छन् र के काम गर्दछन् ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन ।
साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।
लघुवित्तको महत्व :
बिना धितो कर्जा
लघुवित्तहरुले ठूलो रकमसम्म बिना धितो कर्जा प्रवाह गर्दछन् । बिना धितो दिइएको कर्जा शतप्रतिशत उक्सिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर बिना धितो कर्जा भन्ने लघुवित्तको एउटा सिद्धान्त नै हो ।
केहि सिद्धान्त पालना गरेर काम गरियो भने डुब्ने खतरा हुँदैन । हैन भने डुब्ने खतरा हुन्छ । जस्तो स्थानीय स्तरमा बसेका महिलाहरु, जसले एक अर्कालाई चिन्छन, जसको एक अर्कोसँग मन मिलेको छ । उनीहरु एक ठाउँमा बस्छन् र एउटाले अर्काको सामूहिक जिम्मेवारी लिन्छ ।
अर्थात सामूहिक जमानी बसिदिन्छ । त्यहि आधारमा लघुवित्तले कर्जा दिन्छ । भोलि ऋणीले दायाँ बायाँ गरेको अवस्थामा कर्जा असुलीमा सो समूहले सहयोग गर्छ ।
सामाजिक क्षेत्रमा योगदान
लघुवित्तहरुले आर्थिक मात्र होईन, सामाजिक रुपमा पनि सेवा दिँदै आएका छन् । लघुवित्त नभइदिएको भए ग्रामिण क्षेत्रमा पूँजीको परिचालन हुँदैन थियो र पूँजीको परिचालन नहँुना साथ ग्रामिण क्षेत्रको आर्थिक स्तर उकासिँदैन थियो ।
नेपालमा छोटो समयमा नै गरिबीको दरमा आएको सुधारमा लघुवित्तकै निकै ठूलो योगदान रहेको छ । सनु २००३ मा ४१ प्रतिशतभन्दा माथि रहेको गरिबी अहिले २० प्रतिशतभन्दा कममा झरेको छ । एउटा ग्रामिण भेगमा कर्जा लिन चाहानेले ठूला बैंक पुग्न सक्दैन् ।
यसरी ठूला बैंकको पहुँचभन्दा बाहिर रहेका जनतालाई कर्जा दिएर उद्यमी बनाउने काम लघुवित्त वित्तीय संस्थाहरुले गरिरहेको छ ।
उद्यमशिलता विकास
बेरोजगारीको समस्यासँग जुधिरहेका युवाहरुलाई कर्जा प्रदान गरी उद्यमी बनाउनेतर्फ लघुवित्त वित्तीय संस्थाहरु अग्रसर छन् । केही गर्ने सोच भएका तर पैसाको अभावका कारण गर्न नसकेका सर्वसाधारणलाई लघुवित्तले वित्तीय सहयोग प्रदान गरेको छ ।
गरिबीबाट मुक्त हुन सकिएला र भन्ने चिन्तामा रहेका जनतालाई लघुवित्तले आफ्नै व्यवसायको मालिक र रोजगारदाता बनाएको छ । विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गर्ने वातावरण लघुवित्त संस्थाले बनाइदिएका छन् ।




प्रतिक्रिया दिनुहोस्