थाहा नगरपालिकाको पालुबमा आरम्भ चौतारी लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम

आर्थिक लाइभ
आर्थिक लाइभ ३ मंसिर २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, गल्छी अनुगमन कार्यालय अन्तर्गत थाहा नगरपालिका–२, पालुब शाखाले गोलभेडा लक्षित २ दिने व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न गरेको छ । ‘लघुउद्यमीको हात–आरम्भ चौतारीको साथ भन्ने नारासहित आयोजित तालिममा ५१ जनाले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथी थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बम बहादुर सान्तान रहेका थिए भने विशिष्ट अतिथी वडा नं. ३ का अध्यक्ष हिरेन्द्र रायमाझी रहेका थिए। साथै स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति पनि रहेको थियो। कार्यक्रमको अध्यक्षता गल्छी स्टेशन प्रमुख सन्तोष रायमाझीले गरेका थिए। पालुब शाखाका शाखा प्रबन्धक महेन्द्र शर्माले स्वागत मन्तव्य दिँदै अतिथी तथा सहभागीहरूलाई स्वागत गरेका थिए। कार्यक्रम सञ्चालन कर्मचारी पञ्चमाया गोपालीले गरेकी थिइन्।

प्रमुख तथा विशिष्ट अतिथिहरूले संस्थाले आयोजना गरेको व्यावसायिक तालिमले वित्तीय कारोबारसँगै सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गरी आर्थिक समृद्धिको आधार निर्माणमा टेवा पुग्ने उल्लेख गर्दै खुलेर प्रशंसा व्यक्त गरे। सो अवसरमा सहभागीहरूलाई सिकेका सीपलाई व्यवहारमा उतारी आर्थिक आम्दानीमा रूपान्तरण गर्न सुझाउँदै संस्थालाई धन्यवाद पनि दिएका थिए।

२ दिने तालिम कृषि विज्ञ प्रशिक्षक निश्चल शाक्यले संचालन गरेका थिए। उनले कृषकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै मल–माटोको गुणस्तर तथा उपचार, नर्सरी प्रविधि, विरुवा सार्ने तरिका, उपचार विधि, विषादी तथा भिटामिनको मापदण्डअनुसार प्रयोग, रोपाइँदेखि बिक्री नगर्दासम्म विरुवालाई कम लगानीमा बढी आम्दानी हुने आधुनिक व्यवसायिक तरिकाहरूमा प्रशिक्षण दिएका थिए।

सहभागीहरूको गोलभेडा खेतीप्रतिको उत्सुकतालाई ध्यानमा राख्दै तालिमपछि संस्थाले सहभागीहरूलाई गोलभेडाको बीउ वितरणसमेत गरेको थियो।

सहभागीको तर्फबाट दुई जनाले समीक्षा प्रस्तुत गर्दै तालिमले आधुनिक व्यवसायिक तरिका र कृषकले भोग्दै आएका समस्याको नयाँ समाधान पाएको बताए। साथै तरकारी खेतीलाई ढुक्कसँग व्यवसायिक रूपमा अघि बढाउन आत्मविश्वास बढेको भन्दै संस्थाप्रति आभार व्यक्त गरे।

कार्यक्रमकै अवसरमा संस्थामा वित्तीय कारोबारका आधारमा उत्कृष्ट केन्द्र १ वटा, उत्कृष्ट बचत–कर्जा ग्राहक १ जना र उत्कृष्ट सफल उद्यमी १ जनालगायत ३ जनालाई सम्मान गरिएको थियो।

अन्त्यमा गल्छी स्टेशन प्रमुख सन्तोष रायमाझीले सहभागीहरूलाई सिकेका कृषि ज्ञानलाई व्यवहारमा उतारेर व्यावसायिक रूपमा अझ सक्षम बन्न प्रेरित गर्दै धन्यवाद ज्ञापन गरेसँगै तालिम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्