काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ ।
बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।




प्रतिक्रिया दिनुहोस्