काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित र सकारात्मक कार्यदिशा लिएको जनाएको छ।

सिबिफिनले जारी गरेको विज्ञप्तिमा यसपटकको मौद्रिक नीतिले विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली तथा निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने विभिन्न नीतिगत व्यवस्था समेटेको भन्दै स्वागत गरेको छ।

परिसंघले रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा यथावत् राख्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
त्यस्तै बैंकका शाखा खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाउने, बैंकिङ सेवाको डिजिटलाइजेसनमार्फत सञ्चालन खर्च घटाउन प्रोत्साहन गर्ने, विदेशी मुद्रा व्यवस्थापन सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा आवश्यक पर्दा स्टेरिलाइज्ड इन्टरभेन्सन गर्ने व्यवस्थालाई पनि सिबिफिनले दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ।
यद्यपि मौद्रिक नीति निर्माणका क्रममा परिसंघले दिएको केही महत्वपूर्ण सुझाव भने यसपटक सम्बोधन हुन नसकेको जनाएको छ। जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी प्रबन्ध, पुँजी कोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार विवेकशील नियमन सुधारका विषयमा थप कदम आवश्यक रहेको सिबिफिनको धारणा छ।
हालको आर्थिक अवस्था, बैंकिङ क्षेत्रमा बढ्दो पुँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी बनाउन आफ्ना सुझावहरू नेपाल राष्ट्र बैंकले आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा सम्बोधन गर्ने विश्वास सिबिफिनले व्यक्त गरेको छ।
साथै, मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन तथा निजी क्षेत्रको पुनरुत्थान र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य र आवश्यक सुझाव प्रदान गर्न आफू प्रतिबद्ध रहेको सिबिफिनले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्