पुँजी बजार सुधारका लागि सेबोनले समयबद्ध कार्ययोजना ल्याउँदै

आर्थिक लाइभ
आर्थिक लाइभ २५ असार २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेपालको धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट उठिरहेका गुनासोप्रति नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले पुँजी बजार सुधार र लगानीकर्ताको हित संरक्षणका लागि ठोस कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित विस्तृत पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लगाइनेछ।

उनले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनसहित बजारसम्बन्धी विषयमा बोर्डले दिएका निर्देशनहरू तोकिएको समयमै कार्यान्वयन गराइने बताए।

प्रवक्ता घिमिरेका अनुसार थप स्वस्थ, सुरक्षित र प्रभावकारी पुँजी बजार निर्माणका लागि धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया, नियमन प्रणाली तथा संस्थागत सुशासनलाई थप व्यवस्थित बनाउन कानुनी व्यवस्थाको पुनरावलोकन प्रक्रिया पनि सुरु भइसकेको छ।

यसअन्तर्गत विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, सूचीकृत संस्थाहरूको संस्थागत सुशासन निर्देशिकालगायत अन्य कानुनी प्रावधानलाई समयानुकूल परिमार्जन गरिने बोर्डले जनाएको छ।

बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै बजारमा फैलिने हल्ला, अफवाह वा बहकाउमा नपरी आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन क्षमताका आधारमा मात्रै लगानी निर्णय लिन सबै लगानीकर्तासँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्