बन्दीपुर केवलकारको आईपीओ भदौ ११ देखि सर्वसाधारणका लागि खुला

आर्थिक लाइभ
आर्थिक लाइभ ३ भाद्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते अनुमति पाएको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याइएको हिस्सा निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले अब १ लाख ५८ हजार ८२० कित्ता आफ्ना कर्मचारीका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।

आवेदन गर्दा कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसअनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्मको आवेदन दिन सकिने व्यवस्था छ। आवेदन भदौ १५ गतेसम्म दिन सकिनेछ भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २५ गतेसम्म निष्कासन अवधि लम्बिन सक्नेछ।

यस आईपीओलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।

आईपीओ निष्कासन तथा बाँडफाँडको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्