भोटेकोशी बाढीपछि निर्जीवन बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म २५ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार मंगलबारसम्म १५ वटा निर्जीवन बीमा कम्पनीमा ५८३ वटा दाबी परेको हो। बाढीका कारण जलविद्युत आयोजना, घर तथा सम्पत्ति, सवारीसाधनलगायत विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि बीमा दाबीको रकम बढ्दै गएको हो।

कम्पनीगत रूपमा हेर्दा सबैभन्दा धेरै दाबी दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। उक्त कम्पनीमा १३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको दाबी परेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड, शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड रुपैयाँको दाबी परेको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिममा मात्रै २० अर्ब ५० करोड

बाढीबाट भएको क्षतिमा सबैभन्दा ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको रहेको छ। यस पोर्टफोलियोमा मात्रै २० अर्ब ५० करोड रुपैयाँको दाबी परेको छ।

त्यस्तै, सम्पत्ति बीमामा २ अर्ब ३४ करोड, मोटर बीमामा १ अर्ब ५५ करोड, परिवहन बीमामा ८९ करोड, स्वास्थ्य बीमामा ४ करोड १६ लाख र अन्य बीमा पोर्टफोलियोमा ५२ करोड रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ।

भोटेकोशी बाढीबाट १४ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। हजारौं घर बगाउनुका साथै ३०० भन्दा बढी यात्रु बोकेका बस तथा ढुवानीका सवारीसाधनमा समेत क्षति पुगेको थियो।

त्यस्तै, चीनबाट सामान ल्याएर भन्सारमा राखिएका मालवाहक सवारी तथा नेपालमा बिक्रीका लागि ल्याएर राखिएका ७०० भन्दा बढी सवारीसाधनसमेत बाढीले बगाएको जनाइएको छ।

बाढीबाट भएको क्षतिको वास्तविक विवरण संकलन तथा मूल्यांकनको क्रम जारी रहेकाले बीमा दाबीको संख्या र रकम अझै बढ्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्