काठमाडौं । काभ्रे जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ ।

गत असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षापछी रोशी खोलामा आएको बाढीले क्षति पुर्याएका वित्तीय संस्थाका पनौती शाखामा आबद्ध बेथानचोक गा.पा.–४, पाटीखर्कका १२ र पनौती न.पा.–२, कुशादेवीका ५ गरी जम्मा १७ परिवारलाई राहत वितरण गरेको छ ।

पाटीखर्कमा आयोजित एक कार्यक्रमकाबीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले क्षतिका आधारमा २ देखि ५ हजारसम्म राहत वितरण गरेका थिए । कार्यक्रममा उपस्थित बेथानचोक–४, पाटीखर्ककी महिला स्वयंसेविका रुक्मिणी कार्की महतले संस्थाले यसरी आफ्नो गाउँघरमा आएर आर्थिक सहयोग उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रमको संचालन तथा समन्वय वित्तीय संस्थाका पनौती शाखा प्रमुख मनोज थापाले गरेका थिए । अभियान लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले २०८१ असोज मसान्तसम्म ३४ हजार ६ सय जनालाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको र आउँदा दिनहरुमा यस वित्तीय संस्थाले सामाजिक कार्यका साथै ग्राहकहरुको उद्यम विकास तथा स्वरोजगार वृद्धि सम्बन्धिको कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने संस्थाका मुख्य प्रबन्धक कृष्ण बहादुर खड्काले बताए ।




प्रतिक्रिया दिनुहोस्