काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को ११ महिनामा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७१७ परियोजनामार्फत ६० अर्ब ६० करोड ९४ लाख ४३ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

जेठसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड गरी कुल ६० अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।
विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ११ महिनामा ३४७ उद्योगका लागि ५६ अर्ब ७४ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ३७० उद्योगका लागि ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
कुल लगानीको ५० प्रतिशत अर्थात् ३० अर्ब ४४ करोड ७७ लाख रुपैयाँ सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ ।
यस्तै पर्यटन क्षेत्रमा ४० प्रतिशत अर्थात् २३ अर्ब ९४ करोड ४२ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावार क्षेत्रमा एक अर्ब ४४ करोड ६० लाख रुपैयाँ , उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमा एक अर्ब ९७ करोड ३९ लाख, ऊर्जा क्षेत्रमा दुई करोड ५५ लाख र पूर्वाधारमूलक क्षेत्रमा पाँच करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै ७०२ साना उद्योग, नौ मझौला र छ वटा ठुला उद्योग रहेका छन् । नीतिगत सुधारसँगै लगानी प्रतिबद्धतामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
सुरुदेखि हालसम्म सात हजार ११६ उद्योगमा पाँच खर्ब ९० अर्ब ३५ करोड १९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । १४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।




प्रतिक्रिया दिनुहोस्