विकास खर्च ३३ प्रतिशत मात्रै, बजेट घाटा साढे २ खर्ब

आर्थिक लाइभ
आर्थिक लाइभ १ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दश महिना अर्थात वैशाख मसान्तसम्ममा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ५८.४१ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८० वैशाख ३१ गते आइतबारसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो ।
चालु आवका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । अहिलेको खर्चको अवस्था हेर्दा सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालुतर्फ ७ खर्ब ८६ अर्ब ७४ करोड अर्थात ६६.४९ प्रतिशत, पुँजीगततर्फ १ खर्ब २५ अर्ब ६७ करोड अर्थात ३३.०४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ अर्थात् ५८.७९ प्रतिशत बराबर मात्रै खर्च भएको छ ।

तर, अझै चालु शीर्षकको ३ खर्ब ९६ अर्ब ४९ करोड, पुँजीगत शीर्षकको २ खर्ब ५४ अर्ब ७० करोड र वित्तीय व्यवस्थातर्फको ९४ अर्ब ८७ करोड रुपैयाँ बराबर खर्च हुन सकेको छैन । सरकारले बजेटको लक्ष्य हासिल गर्न आगामी दुई महिनामा उक्त परिमाणको बजेट खर्च गर्नुपर्नेछ । यस अवधिमा सरकारले ७ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ ।

चालु आवको दश महिनाको अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५३.९ प्रतिशत अर्थात ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ बराबर देखिएको छ । चालु आवका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

दश महिनामा सरकारले राजश्व, अनुदान तथा अन्य क्षेत्रबाट ७ खर्ब ९७ अर्ब ३४ करोड ५८ लाख प्राप्ति गरेको छ । जुन सरकारले यस अवधिमा गरेको खर्च भन्दा २ खर्ब ५० अर्ब ४१ करोड ५२ लाख कम हो ।

सरकारले चालु आवको दश महिनाको अवधिमा कुल ७ खर्ब ९७ अर्ब ३४ करोड ५८ आम्दानी गरेर १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख खर्च गरेको छ । यसअवधिमा सरकारको बजेट घाटा साढे दुई खर्ब नाघेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दश महिनामा ७ खर्ब ५६ अर्ब २५ करोड ३१ लाख राजश्व संकलन भएको छ । संकलित राजस्वमध्ये कर राजस्वतर्फ ६ खर्ब ८४ अर्ब ६३ करोड, गैरकर राजस्वतर्फ ७१ अर्ब ६१ करोड र वैदेशिक अनुदानतर्फ ४ अर्ब ८० करोड रुपैयाँ बराबर संकलन भएको छ । यही अवधिमा अन्य प्राप्ति शीर्षकको राजस्व ३६ अर्ब २९ करोड रुपैयाँ बराबर छ ।

प्रतिक्रिया दिनुहोस्

Array