काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पत्र प्रदान कार्य पुनः सुरु गरेको हो। बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै हालसम्म स्थगित रहेको मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुरु भएको जानकारी दिएको हो।

‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसायअन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमति पत्र प्रदान गर्ने कार्य बोर्डको मिति २०७५/०४/०८ को निर्णयानुसार हालसम्म स्थगित रहेकोमा उक्त अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको छ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

साथै, बोर्डले नियमावली बमोजिमको अनुमति पत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेको तथा कम्तीमा १ अर्ब चुक्ता पुँजी कायम रहेको भए ३० प्रतिशत भन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्थासमेत भएको जानकारी दिएको छ।
यसअघि बोर्डले संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना भएको जनाउँदै निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको अनुमति पत्रका लागि नयाँ आवेदन दर्ता गर्नेे कार्य रोकेको थियो।




प्रतिक्रिया दिनुहोस्