काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ६९.८० अंकले बढेर दुई हजार ७२७.५८ विन्दुमा कायम भएको छ। यो २.६२ प्रतिशतको वृद्धि हो।

यसैगरी, आज सेन्सेटिभ इन्डेक्स तीन प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम पनि झन्डै १३ अर्बमा पुगेको छ। आज ३३० कम्पनीको दुई करोड ४८ लाख ४८ हजार कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँबराबरमा कारोबार भएको छ।

आज नेप्सेका सबै उपसमूहको सूचक वृद्धि भएको छ। लघुवित्त सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढ्दा विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको सूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ।
बजारमा हरियाली छाउँदा आज सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी विकास कम्पनी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
समग्रमा बजार उच्च अंकले बढे पनि आज सामुदायिक लघुवित्त र सप्तकोशी विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन्। यी कम्पनीको सेयर मूल्य क्रमशः १० प्रतिशत र ८.२० प्रतिशतले घटेका हुन्।




प्रतिक्रिया दिनुहोस्