काठमाडौं । नेप्से परिसूचकमा मंगलबार उच्च अंकको वृद्धि भएको छ।

नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन मंगलबार नै नेप्सेमा ७०.१८ अंकको वृद्धि भएको हो। नेप्से मंगलबार ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ विन्दुमा बन्द भएको छ।

नयाँ सरकार गठन भएको दिन सोमबार १७.१८ अंकले घटेको बजार परिसूचकमा मंगलबार भने उछाल आएको हो। नेप्सेमा ६ महिनापछि उच्च मूल्यको कारोबार भएको छ।
मंगलबार ९ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार आठ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबार २३४ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटे पनि बाँकीको भने वृद्धि भएको छ। हाइड्रोपावर समूहको सबैभन्दा धेरै ५.४५ प्रतिशतले वृद्धि भएको छ।
विकास बैंक समूहको परिसूचक ४.९४ प्रतिशतले बढेको छ।




प्रतिक्रिया दिनुहोस्