एसियन हाइड्रोपावरको आइपिओ खुला, २० हजार कित्तासम्म आवेदन दिन पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडाैं । एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता  १०० रूपैयाँ अङ्कित दरमा ४ लाख २४ हजार कित्ता सेयर प्राथमिक सेयर  निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ३४ करोड रूपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रूपैयाँ बराबरको कुल ३ लाख ४० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ४० प्रतिशत अर्थात १ लाख ३६ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४  तथा सूर्योदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने दुई लाख चार हजार कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता सयर खरिदका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने सेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आईएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत सेयर खरिदका आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्बा’ प्रणालीमार्फत तथा ‘मेरो सयर’मार्फत सेयर खरिदको आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array