काठमाडौं । मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा) उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार मंसिर मसान्तसम्म यस्तो कर्जाको कुल आकार १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको साउनमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको सेयर धितो कर्जा चालु वर्षको मंसिरसम्म आइपुग्दा करिब ६४ प्रतिशतले वृद्धि भएको हो। कुल प्रवाहित कर्जामध्ये १ करोड रुपैयाँभन्दा माथिको कर्जा मात्रै १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ रहेको छ, जुन कुल सेयर धितो कर्जाको करिब ७० प्रतिशत हो। पछिल्लो पाँच महिनामा मात्रै यो वर्गको कर्जा ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँले थपिएको देखिन्छ।

राष्ट्र बैंकका अनुसार मध्यम र साना लगानीकर्ताको ऋण लिने प्रवृत्ति पनि क्रमिक रूपमा बढ्दो छ। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ। यो समूहको कर्जा पछिल्लो पाँच महिनामा ११.७ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.३ प्रतिशत थियो।
त्यसैगरी, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यस समूहमा पाँच महिनाको अवधिमा ७१ करोड ५८ लाख रुपैयाँ कर्जा थपिएको छ।
सबैभन्दा साना लगानीकर्ता, अर्थात् २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा लिने समूहको कुल कर्जा मौज्दात ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यस समूहमा ६.७ प्रतिशतको वृद्धि देखिएको छ, जुन अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा बढी हो।
समग्रमा, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सेयर धितो कर्जा ५.७ प्रतिशतले बढेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८ अर्ब ८ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन्, जसमध्ये २ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ मंसिर महिनामा मात्रै प्रवाह भएको हो।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा (क्याप) मा गरेको परिमार्जन, बैंकहरूमा रहेको पर्याप्त तरलता र ब्याजदरमा आएको कमीका कारण लगानीकर्ताहरू सेयर धितो कर्जातर्फ आकर्षित भएको विश्लेषण गरिएको छ।




प्रतिक्रिया दिनुहोस्