काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (असार २३ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । अब भने सर्वसाधारणका लागि आईपीओ निष्काशन जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सर्वसाधारणले भने बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आवेदन आगामी साउन २३ गतेदेखि २६ गतेसम्म दिन सकिनेछ । तोकिएको सो अवधिमा आवेदन नपरेको खण्डमा भने भदौ ५ गतेसम्म लम्बिनेछ । कम्पनीको आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ । १० कित्ता सेयर भर्नका लागि २ हजार ५७० रुपैयाँ चाहिनेछ ।




प्रतिक्रिया दिनुहोस्