सोनापुर मिनरल्सको आईपीओः माग अनुसारको आवेदन नपरेपछि म्याद थप

आर्थिक लाइभ
आर्थिक लाइभ १८ आश्विन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले १४ असोजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओमा १७ असोजसम्म आवेदन दिन म्याद भएपनि उक्त अवधिमा माग अनुसारको आवेदन नपरेको भन्दै आवेदन दिने म्याद थप भएको हो । कम्पनीको आईपीओमा अब २८ असोजसम्म आवेदन दिन सकिने भएको छ । तर, २८ असोज अगाडि नै माग भन्दा बढी आवेदन परेमा भने सूचना प्रकाशित गरेर आवेदन बन्द हुने कम्पनीले जनाएको छ ।

आवेदन दिने अन्तिम दिन १७ असोज बुधबार बिहान भने कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ । बुधबार बिहान १० बजेटसम्म कम्पनीको आईपीओमा ८ लाख ५७ हजार ७९७ जना आवेदकले १ करोड १ लाख ७२ हजार १२० कित्ताको लागि आवेदन दिएका छन् । ९७ लाख ३२ हजार ५४४ कित्ताको लागि आवेदन माग गरेकोमा माग भन्दा बढी आवेदन परिसकेकको हो । तर, मंगलबार साँझसम्म करिब ८५ लाख कित्ताको लागि मात्रै आवेदन परेकोले बुधबार बिहान म्याद थप भएको सूचना प्रकाशित भएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको थियो । स्थानीयले नकिनेको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली र ५/५ प्रतिशत कर्मचारी तथा सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको सेयर समेत थप गरेर १४ असोजदेखि सर्वसाधारणको आवेदन माग गरेको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array