माण्डु हाइड्रोपावरको आईपीओ खुला

आर्थिक लाइभ
आर्थिक लाइभ १० भाद्र २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको प्रिमियममा आईपीओ निष्काशन भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १३ गते हुनेछ भने ढिलोमा भदौ २४ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरि हाल सञ्चालनमा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्