नेफ्स्कुनले मनायो ३६औं स्थापना दिवस

आर्थिक लाइभ
आर्थिक लाइभ १ भाद्र २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले ३६औं स्थापना दिवस मनाएको छ । नेफस्कुनका अध्यक्ष परितोष पौडेलको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यतामा स्थापना दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडालले सहकारीको आफ्नै दर्शन भएको र बैंक वा कम्पनीसँग तुलना गर्न नमिल्ने बताए । सहकारीहरुले आफ्नो मुल्यमान्यतामा रहेर प्रतिस्पर्धा गर्नुपर्ने उनले जनाए । सहकारी बिना समाजवादमा प्रवेश गर्न नसकिने उनकाे भनाइ छ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बचतऋण सहकारीले सदस्यको हित अभिवृद्धि गर्दै नेपालको समृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । साकोस अभियानले सदस्यहरुको सेवा गर्दै मुलुकको आर्थिक सामाजिक उन्नयनमा आगामी दिनमा थप योगदान दिन सकोस् भन्ने शुभकामना व्यक्त गरे । सहकारी मुल्यमान्यता र दर्शनलाई पालना गर्दै सदस्यहरुको समृद्धिमा सहकारीले भूमिका खेल्नुपर्ने उनले औंल्याए ।

सहकारीले ४ खर्ब भन्दा बढी रकम परिचालन गर्दै लाखौं मानिसलाई आवद्ध गर्नु बलियो पक्ष भएको उनले जनाए । सहकारी संस्थाबाट सदस्य र बचतकर्ताहरु किन पीडित भए भन्ने विषय विश्लेषण गरी उनीहरुको पीडामा मलम लगाउने जिम्मेवारी अभियानको रहेको उनले प्रष्ट पारे ।

सदस्य संस्थाहरुको विकास र प्रवर्धन गर्नु नेफ्स्कुनको जिम्मेवारी भएको भन्दै उनले मुल्य, मान्यता र सिद्धान्त पालना गरेनगरेको हेर्ने दायित्व पनि रहेको उनले जनाए । सहकारीमा अहिले समस्या देखिएको र त्यसको निराकरणका लागि नेफ्स्कुनले पनि पहल गर्नुपर्नेमा उनले जोड दिए । मुल्यमान्यता पालनमा संस्थाहरु कमजोर भएको गुनासो बढिरहेकाले त्यसलाई अन्त्य गर्दै विश्वसनीय सहकारी क्षेत्र बनाउन तर्फ लाग्न उनको सुझाव थियो ।

मुलुक संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति र कानुनी संरचनागत समस्या रहेकाले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न नसकिएको उनको भनाई छ । अहिले सहकारी क्षेत्रमा देखिएको समस्या निराकरणका लागि अभियानले पहल गर्नुपर्ने भन्दै उनले सरकारले पनि त्यसमा हातेमालो गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल नेकपा माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणि पोखरेल, नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेफ्स्कुनले विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गर्ने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array