अब प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ सेयर जारी गर्न पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ सेयर जारी गर्न पाउने भएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृति दिएसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आउने भएको हो।

हालसम्म पब्लिक कम्पनीमा रुपान्तरण भएको दुई वर्षपछि मात्रै सर्वसाधारणलाई सेयरजारी गर्न पाउने व्यवस्था छ। अब २ वर्षदेखि कारोबार गरिरहेको कम्पनीले पब्लिकमा रुपान्तरण भए लगत्तै सेयर जारी गर्न पाउने भएका हुन्।

त्यस्तै, संशोधित नियमावलीले एक अर्ब चुक्ता पुँजी भएका बिमा र वित्तीय कम्पनीले सञ्चालनमा आएको एक वर्ष भित्रमै प्रिमियममा सेयर जारी गर्न पाउने भएका छन्।

यसअघि प्रिमियममा सेयर जारी गर्ने कम्पनी कम्तिमा तीन वर्षदेखि नाफामा भएको हुनुपर्ने व्यवस्था थियो। एक अर्ब चुक्ता पुँजी भएका उद्योगहरुले पनि दुई वर्ष नाफामा गएपछि प्रिमियममा सेयर जारी गर्न पाउने भएका छन्।

अन्यलाई भने कम्तिमा तीन वर्ष लगातार नाफामा गएको हुनुपर्ने व्यवस्था यथावत छ। अंकित मूल्यमै सेयर जारी गर्न भने जुनै क्षेत्रका कम्पनी पब्लिकमा रुपान्तरण भएलगत्तै गर्न सक्नेछन्।

नियमावलीले जलविद्युत् कम्पनीलाई लक्षित गर्दै सञ्चालन अवधि १० वर्ष मात्र बाँकी रहेकाले सर्वसाधारणमा सेयर जारी गर्न नसक्ने व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array