ट्रेकिङ गाइड बन्न मन छ ?, टानले खुलायो तालिम

आर्थिक लाइभ
आर्थिक लाइभ २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)ले ट्रेकिङ गाइड तथा ट्रेकिङ पोर्टर गाइड तालिम सञ्चालन गर्ने भएको छ । टानले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको समन्वयमा आगामी पौष अन्तिम हप्ता तालिमको सञ्चालन गर्न लागेको हो । पर्वतीय पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले टानले प्रत्येक वर्ष तालिमको आयोजना गर्दै आएको छ ।

ट्रेकिङ गाइडको लागि ५०० जना र ट्रेकिङ पोर्टर गाइडको लागि ८० जनाको सिट निर्धारण गरेको छ । ट्रेकिङ गाइड तालिममा सहभागी हुन प्लस टु उत्तीर्ण वा एसइई उत्तीर्ण भई रजिस्टर्ड ट्रेकिङ कम्पनीमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । यसका लागि ७,००० (सात हजार रुपैयाँ) शुल्क तोकिएको छ ।

ट्रेकिङ गाइड पोर्टरका लागि कम्तीमा कुनै एउटा अन्तर्राष्ट्रिय भाषा बुझ्न र सञ्चार गर्न सक्ने सीप भई ट्रेकिङ पोर्टरको रूपमा दुई वर्ष काम गरेको अनुभव वा एसइई वा सो सरहको परीक्षामा सामेल भएको हुनुपर्ने छ । यसका लागि ३,००० (तीन हजार रुपैयाँ) शुल्क तोकिएको छ ।

तालिम लिन इच्छुकहरूले रजिस्टर्ड सदस्य ट्रेकिङ कम्पनीबाट सिफारिस लिएर टानको कार्यालयबाट फारम प्राप्त गर्न सक्नेछन् । फारम शुल्क पाँच सय रुपैयाँ निर्धारण गरेको छ । फारम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथ्म)मा बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array