सहकारीमा देखिएको बढ्दो समस्या समाधान गर्न उपसमिति गठन

आर्थिक लाइभ
आर्थिक लाइभ १६ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

काडमाढौं । सहकारी क्षेत्रमा देखिएका बढ्दो समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासंघले उपसमिति गठन गरेको छ । महासंघको बिहीबार बसेको २०२ औं बोर्ड बैठकले महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिले समस्या उन्मुख संस्थाहरुको स्थलगत अध्ययन, विश्लेषण, समन्वय समेत गर्ने भएको छ । सहकारी क्षेत्रको वर्तमान अवस्थाको विषयमा सरकार गम्भीर नभएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको आरोप छ ।

गठित उप समितिको सदस्यहरुमा महासंघका संचालकद्वय डिवी बस्नेत, राजेन्द्र पौडेल, नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहने छन् । साथै सो उपसमितिको सदस्य सचिवमा महासंघका महाप्रबन्धक रहने निर्णय भएको छ । सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण, निक्षेप तथा बचत सुरक्षण कोष समयभित्र नै कार्यान्वयन गर्न सरकार चुकेका कारण सहकारीमा चुनौती बृद्धि भएको बताइएको छ । महासंघले सहकारी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने ऐनमा व्यवस्था भएको प्रावधान कार्यान्वयनका लागि ठोस कदम चाल्न पर्नेमा जोड दिएको छ ।

साथै महासंघले स्वनियम र स्वमूल्यांकनको विधिलाई मजबुद बनाउनका लागि समितिको स्वमूल्याएन फारम तयार गरेको छ । उक्त फारम प्रत्येक बर्ष समितिका पदाधिकारीहरु तथा सदस्यहरुले भनुपर्ने महाप्रबन्धक सुब्बाले बताइन । सो बैठकले लेखा सुपरिवेक्षण समितिको आन्तरिक सुपरिवेक्षण सम्बन्धी कार्यविधि समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array