काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले परियारसँगै सोही मुद्दामा संलग्न कर्मचारी बसन्त आचार्य र नमराज ढकाललाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तीनै जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूलाई ठेक्का प्रक्रियामा कम दर प्रस्ताव गर्ने ठेकेदारलाई छोडेर बढी दर कबुल गर्ने ठेकेदारलाई ठेक्का दिएको आरोप लागेको छ।

अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको आदेशपछि तीनै जना हाल धरौटीमा रिहा भएका छन् भने मुद्दाको थप प्रक्रिया अगाडि बढ्नेछ।




प्रतिक्रिया दिनुहोस्