‘नाडा अटो शो २०२५’ मा बैंकहरूले ल्याए सस्तो अटो कर्जा योजना

आर्थिक लाइभ
आर्थिक लाइभ ४ भाद्र २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं । मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२५’ लाई लक्षित गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याएका छन्।

अटो व्यवसायीहरूले ल्याएका नयाँ योजनासँगै बैंकहरूले पनि आकर्षक कर्जा स्कीम सार्वजनिक गरेपछि नाडा अटो शोमा नयाँ गाडी बुकिङ र खरिद गर्ने ग्राहकको भीड देखिएको छ। दशैं–तिहार जस्ता चाडपर्व नजिकिनु र नयाँ गाडी खरिदमा बढ्दो रुचिले पनि बिक्रीमा वृद्धि गरेको छ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ८ वटा बैंकले नाडा अटो शोमा सहभागी भई न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएका छन्। बैंकहरूले स्थिर (फिक्स्ड) र परिवर्तनशील (फ्लोटिङ) ब्याजदरमा दुवै योजना उपलब्ध गराएका छन्। त्यस्तै, केही बैंकले विद्युतीय सवारी साधनलाई केन्द्रमा राखेर विशेष स्कीम पनि ल्याएका छन्। नेपाल राष्ट्र बैंकको नियमअनुसार नयाँ सवारी खरिदका लागि बैंकहरूले ६० प्रतिशतसम्म फाइनान्स प्रदान गर्न सक्छन्।

बैंकको ब्याजदर विवरण:

नबिल बैंक: आधारदर ५.७४% मा १% प्रिमियम थपेर ६.७४% ब्याजमा ७ वर्ष अवधिका लागि कर्जा। प्रशासनिक खर्च ०.५०%।

हिमालयन बैंक: ८ वर्ष अवधिका लागि ७.५०% ब्याजमा कर्जा। सेवा शुल्क ०.५०%।

ग्लोबल आइएमई बैंक: ६.९९% ब्याजमा अटो लोन।

कृषि विकास बैंक: ६.२३% ब्याजमा ईभी लोन। सेवा शुल्कमा ३३% छुट।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ६.२९% ब्याजमा कर्जा। आधारदर ५.७९% + ०.५%।

लक्ष्मी सनराइज बैंक: आधारदर ६.३५% + १% प्रिमियम = ७.३५% ब्याज। सेवा शुल्क नाडा बुकिङमा ०.५०%। अवधि ७ वर्ष। फिक्सड दरमा ७.९९%। अफर मंसिर १४ सम्म।

एनएमबि बैंक: ७ वर्षका लागि फिक्स्ड ८.८९%, फ्लोटिङ ७.१३%।

सानिमा बैंक: ५ वर्षका लागि ७.९९%, ७ वर्षका लागि ८.१५% ब्याज। सेवा शुल्क ०.५०%।

यसरी बैंकहरूले नाडा अटो शोमा गाडी खरिद गर्न इच्छुक ग्राहकलाई आकर्षित गर्न विभिन्न कर्जा योजना ल्याएर व्यवसायिक अवसर विस्तार गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्