काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।

सम्मेलनको दोस्रो दिनको कार्यक्रममा वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताए । इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आईटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताए ।

उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।’
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको बताउँदै बुढाथोकीले थपे, ‘सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टीकल एजुकेसनलाई अगाडि बढाएर ११–१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ ।’
बुढाथोकीले युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले भने, ‘अवसर चुनौतीको रुपमा आउने र चुनौती आउनेवित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ । अरुले के सोचिरहेका छ भन्ने कुरा आफूले सोचेर उद्यम सुरु गर्न सक्यो र त्यसलाई गहनरुपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप सुरु गर्न त्यति गाह्रो काम पनि छैन ।’
त्रिभुवन विश्वविद्यालयका डीन प्राडा महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तफबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।
चालिसेले भने, ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निर्माण गर्ने र त्यसलाई व्यवहारिकरुपमा लागु गर्न आवश्यक छ ।’ अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने विषय चालिसेले बताए ।
सिनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्राण्डिङसहितको प्रचार गर्न आवश्यक भएको बताए । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रबर्द्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताए ।
कार्कीले भने, ‘स्टार्टअप, उद्यमशीलता र व्यवासयिक सिप तथा तालिमका विषय भूगोल अनुसार जनतालाई जागृत गर्न आवश्यक छ । वीपीले भनेको समग्र भूगोलमा रहेको जनताले आफ्नो हैसियत अनुसारको काम गरेर स्वतन्त्र रुपमा समृद्धिका साथ बाँच्न पाउने अधिकार नै मानवाधिकार हो । विश्वविद्यालय, राज्य र अभिवाभक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधार नै उद्यम हो ।’
योङ इनोभेसनका संस्थापक विभूषण विस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताए ।
जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्नसक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याए । विष्टले कक्षा कोठाको पढाइ र व्यवहारमा लागू गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए ।
उनले भने, ‘उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो आइडियाको मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।’
कार्कीले पनि हरेक संकायमा आईटी र स्टार्टअपको आधारभूत ज्ञान दिन आवश्यक रहेकोसमेत बताए । उनले थपे, ‘हाम्रो प्रतिस्पर्धी अन्य मुलुकको स्टार्टअप गरिरहेकाहरु हुनसक्छन्, त्यो ग्लोबल बजारमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको उद्यमीहरुलाई प्रशिक्षित गर्न आवश्यक छ ।’
खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताइन् । उनले भनिन, ‘सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।’
सरकारले जनशक्ति उत्पादनमा ध्यान दिएर लगानीको सहज वातावरण गर्न सकेको अवस्थामा आईटी क्षेत्रमा भएका सम्भावनाहरुलाई अवसरको रुपमा उपयोग गर्न सकिने थापाले बताइन् । उनले भनिन्, ‘पछिल्लो समयमा सरकारका विभिन्न निकायहरु छन् । ती निकायले स्थानीय जनशक्तिलाई मद्दत गरेर सहयोग गर्न आवश्यक छ । व्यवसाय गर्ने विषय आफैँमा चुनौती छ । समाधानका लागि सहकार्य र सहयोग आवश्यक छ ।’
थापाले प्रविधिको विकासले अहिले स्टार्टअपका लागि सहयोग पुर्याएको भए पनि योग्य जनशक्तिको अभाव देखिएको पनि बताइन् । उनले भनिन, ‘स्टार्टअप सुरु गर्नका लागि आफूले गरेको उद्यमका लागि सिप विकास अनिवार्य हुन्छ । उद्यमका लागि प्रविधिको ज्ञानसँगै सीप निकै जरुरी छ । तर, हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण विषय भनेको समाजको ढाडस निकै राम्रो हुन्छ । हाम्रो राजनीतिक नेतृत्वले स्टार्टअपका लागि आवश्यक सहयोग गर्ने संस्कृति पनि विकास हुन सकेको छैन । जनशक्ति विकास निकै महत्वपूर्ण विषय हो ।’




प्रतिक्रिया दिनुहोस्