काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

आयोगले संशोधन गरेको अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई सरकारले स्वीकृत गरेसंगै संकेत नम्बरको व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारले स्वीकृत गरेको संशोधन राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।

संशोधित नियमावली अनुसार आयोगमा प्राप्त हुन आएका उजुरी निवेदन गोश्वारा दर्ता किताबमा दर्ता गर्नु पर्नेछ । तर, आफ्नो नाम, ठेगाना सहितको विवरण गोप्य राख्ने गरी कसैले उजुरी दिएमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम र ठेगाना सहितको विवरणको सट्टा आयोगले तोकिदिए वमोजिमको सङ्केत राखी त्यस्तो उजुरी दर्ता गर्नु पर्नेछ ।
त्यसैगरी संशोधित नियमावली अनुसार भ्रष्टाचार गरेर सम्पत्ति शुद्धिकरण गरेको विवरण सहितको उजुरी आएमा आयोगले आवश्यक कारबाही गर्नुपर्छ । यसले सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको काम कारबाहीलाई सहकार्य गर्ने व्यवस्था समेत संशोधित नियमावलीले गरेको छ । सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरी आयोगमा आएको खण्डमा आयोगले भ्रष्टाचारको र विभागले सम्पत्ति शुद्धिकरण विषयलाइ आवश्यक अनुसान्धान तथा कारबाही गर्नेछन ।
त्यसैगरी भ्रष्टाचार गरेर सम्पत्ति सुद्धिकरण गरेको विषयमा आयोगले विशेष अनुसन्धान विधिहरुको समेत प्रयोग गर्न सक्ने व्यवस्था नियमावलीमा छ । यस्तो अनुसन्धानमा अनुसन्धान अधिकृतले आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १९ बमोजिम विशेष अनुसन्धान विधि अवलम्वन गर्न सक्छ । सो दफा अनुसार अनुसन्धान अधिकृतले नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी परिचालन, गुप्त अनुसन्धान कारवाही, टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने, थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने र कम्प्यूटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच राखी अनुसन्धान गर्न सक्छ ।




प्रतिक्रिया दिनुहोस्