सट्टेबाजीमा संलग्न लमजुङका गौली पक्राउ, पौने ८ करोडको कारोबार

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयले फिफा विश्वकपका बेला सट्टेबाजी खेलाउने एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बेटिङ एप आईएक्स बेटलगायतमार्फत सट्टेबाजी गराउने लमजुङ सुन्दरबजारका २६ वर्षीय सुजन गौलीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी काठमाडौंको टोखा बस्दै आएका थिए। आईएक्स बेटको एजेन्टका रुपमा उनी सट्टेबाजीमा संलग्न भेटिएको प्रहरीले जनाएको छ। उनले रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा आईएक्स बेटको खाता खोली कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ।

इसेवा, आईएमई पे र खल्तीजस्ता भुक्तानी सेवाप्रदायक र विभिन्न बैंकिङ प्रणालीमार्फत उनले हालसम्म २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँको कारोबार गरेको देखिएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा अन्य विभिन्न २६ वटा डिजिटल वालेट र बैंकिङ प्रणालीबाटै ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँबराबरको कारोबार देखिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्