काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

पदबाट हटाउने विषयमा आफ्नो दोस्रो स्पष्टीकरण भन्दै कुलमानले आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका हुन् । उनले कर्मचारीलाई दुःख दिने नियतले स्पष्टीकरण सोधिएको बताएका छन् ।

घिसिङले आफूले गरेको कसुरबारे मन्त्रालयलाई नै थाहा नभएको मन्त्रालयकै स्पष्टीकरण मागको पत्रले देखाएको उल्लेख गरेका छन् । “…कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?,” उनले प्रश्न गरेका छन्, “कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ । स्पष्टीकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारबाही गर्न मिल्दैन ।”
कार्यकारी निर्देशक घिसिङले आफूमाथिका आरोपलाई मनोगत भनेका छन् । ‘मेरो नियुक्तिपछिको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ’, कुलमानले जवाफमा भनेका छन्, ‘तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ ।’
सोही कारण २४ घण्टाभित्र पेस गर्नुपर्ने जरुरपना र तत्कालै कारबाही गर्नुपर्ने अवस्था नभएको स्पष्टीकरणमा राखिएका विषयबाटै स्पष्ट हुने उनको दाबी छ ।




प्रतिक्रिया दिनुहोस्