नेपालको अर्थतन्त्र स्थिरका साथै आर्थिक नीतिमा सुधार हुँदैछः आइएमएफ

आर्थिक लाइभ
आर्थिक लाइभ १६ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र स्थिर रहेको जनाएको छ। यसका साथै नेपाल सरकारले सरकारी आम्दानी र खर्च बढाउन, देशमा सु–शासन कायम गर्न, आर्थिक तथा वित्त नीतिमा सुधार गरेको आइएमएफको ठहर छ ।

सन् २०२३ को नोभेम्बरमा आइएमएफले विस्तारित कर्जा सुविधा (इसिएफ)को तेस्रो किस्ता अन्तर्गत ५ करोड २० लाख अमेरिकी डलर स्वीकृत गरेको थियो । चौथो किस्ता स्वीकृत गर्नु अघि हाल नेपालका लागि आइएमएफ मिसन प्रमुख टिडियन किन्डा र आइएमएफ एशिया तथा प्यासिफिक क्षेत्रकी उपनिर्देशक एन–मेरी गुल्डे–वुल्फले हाल नेपालमा छन् ।

तेस्रो किस्ताबाट प्राप्त रकमले नेपाल सरकारले महत्वपूर्ण कार्यहरु गर्दै आएको आइएमएफले जनाएको छ । नेपाल राष्ट्र बैंकले डेटामा आधारित भई मुद्रास्फीति नियन्त्रण गर्न सफल भएको र विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाएपछि विदेशी सञ्चिति विगतको तुलनामा बढेको आइएमएफले जनाएको छ ।

नेपालको आर्थिक वृद्धिको सम्भावना प्रचुर रहेको र आगामी लगानी सम्मेलनमा नेपालले आफ्ना आर्थिक सम्भावनालाई प्रर्दशन गर्नुपर्ने आइएमएफको सुझाव छ। नेपाल सरकारले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरी लगानीकर्ताहरुलाई सहजता प्रदान गर्नुपर्ने छ ।

यस्तै देशमा सुशासन कायम भएको खन्डमा अन्तराष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा बढ्ने र त्यसले अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई लगानी गर्न मार्ग निर्देश गर्ने आइएमएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array