कच्चा तेलको मूल्य २०२३ कै उच्च विन्दुमा, नेपालमा पनि मूल्य बढ्ने

आर्थिक लाइभ
आर्थिक लाइभ १७ भाद्र २०८०, आईतवार
2 Min Read
Aa

एजेन्सी । कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने मुर्बान तेलको ९०.६९ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुमा मुख्यतः दुई कारण रहेको सञ्चारमाध्यम ‘आयलप्राइस’ले औंल्याएको छ । अमेरिकाको इनर्जी इन्फर्मेसन प्रशासनका अनुसार एक सातामै अमेरिकाको तेल मौज्दात २.४ प्रतिशत (१ करोड ६ लाख ब्यारेल) घटेको छ ।

यसले गर्दा तेलको माग बढ्न गई मूल्य बढ्न गएको सो सञ्चारमाध्यमले जनाएको छ । त्यस्तै आगामी अक्टोबर महिनादेखि रुस तथा साउदी अरेबियाले कच्चा तेलको उत्पादनमा कटौती गर्ने तयारी गर्नुले पनि केही त्रास बढेको छ । रुसले यो साता तेल कटौतीबारेको निर्णय पारित गर्नेछ भने साउदीले दैनिक करिब १० लाख ब्यारेल कटौतीको तयारी गरेको छ । यसले मूल्यवृद्धि बढेको औंल्याइएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्य, आफ्नो लागत समेत समायोजनसहित प्रशोधित तेलको मूल्य निर्धारण गरी १५–१५ दिनमा नेपाल आयल निगमलाई सूची पठाउने गरेको छ । सो सूचीका आधारमा नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुँदै आएको छ । जसले गर्दा नेपाल आयल निगमले पनि उपभोक्ताका लागि इन्धनको मूल्य बढाउँदै लगेको छ । भारतबाट बढेर मूल्यसूची आउँदा नेपालमा पनि मूल्य बढ्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

Array