सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंक, साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना

आर्थिक लाइभ
आर्थिक लाइभ २८ माघ २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साइपाल गाउँपालिका १ स्थित धलौनमा नयाँ शाखा संचालनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के.सी., बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेललगायतको उपस्थिति थियो।

उद्घाटित यो शाखा बैंकको १२९औं कार्यालय हो। वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पूर्ण पालिकामा बंैक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए। साथै, अब सानेतिनोे बैकिङ सेवाका लागि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य भएको बताए।

देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका छन्। देशैभरि १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटीएम छन्।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ। यस बैंकले भारतको नयाँदिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्