बैंकहरुले ६ महिनामा सरकारलाई बुझाए झन्डै साढे १२ अर्ब रुपैयाँ आयकर

आर्थिक लाइभ
आर्थिक लाइभ १८ माघ २०८१, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । वाणिज्य बैंकहरुले ६ महिनामा झन्डै साढे १२ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् । २० वटा बैंकहरुले आम्दानी र नाफा मार्फत सो बराबरको रकम सरकारलाई बुझाएका हुन् ।

बैंकहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ आयकर तिरेका छन् । तर, यो गत आवको तुलनामा भने २.३३ प्रतिशत कमी हो । गत आवको पहिलो ६ महिनामा बैंकहरुले १२ अर्ब ६६ करोड १४ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनुपर्ने छ ।

अधिकांश बैंकहरुको आयकर घटेको छ । ११ वटा बैंकले आफ्नो आम्दानी र नाफा मार्फत सरकारलाई बुझाउने आयकरमा गिरावट देखिएको छ । गत वर्षको तुलनामा भने प्रभू बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, ग्लोबल आइएमई र एभरेष्ट उच्च दरमा बढाएका छन् ।
सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ । चालु आवको ६ महिनामा बैंकले १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ कर सरकारलाई बुझाएको छ । यो गत आवको तुलनामा भने ५.५७ प्रतिशत बढी हो ।

दोस्रो सूचीमा रहेको एनआइएमबिले पन ि१ अर्ब २१ करोड ७६ लाख रुपैयाँ बुझाएको छ । यस्तै, प्रभू बैंकले पनि ६ महिनामा १ अर्ब १८ करोड ७४ लाख, ग्लोबलले १ अर्ब १५ करोड २२ लाख र एभरेष्ट बैंकले १ अर्ब ३ करोड २० लाख रुपैयाँ आयकर बुझाएका छन् ।

यी पाँच वटा बैंकले मात्रै अर्ब बढी कर सरकारलाई तिरेका छन् । सबैभन्दा कम आयकर एनआइसी एशियाले ६ करोड ५० लाख रुपैयाँ तिरेको छ । तर, नेपाल बैंकको आयकर भने ४ करोड २४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

समिक्षा अवधिमा एनएमबि बैंकले ८३ करोड ५५ लाख, प्राइमले ७९ करोड २३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ७० करोड ३१ लाख, हिमालयनले ६५ करोड २८ लाख, लक्ष्मी सनराइजले ५० करोड ७५ लाख, सानिमाले ४५ करोड ५७ लाख, नेपाल एसबिआईले ४४ करोड ३० लाख, कुमारीले ४१ करोड ४६ लाख रुपैयाँ कर तिरेका छन् ।

यता, कृषि विकास बैंकले ३९ करोड ५ लाख, माछापुच्छ्रेले ३४ करोड ५९ लाख, राष्ट्रिय वाणिज्यले ३२ करोड ७० लाख, सिटिजन्सले २६ करोड र सिद्धार्थ बैंकले २३ करोड २४ लाख रुपैयाँ कर तिरेका छन् ।

प्रतिक्रिया दिनुहोस्