साढे २१ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खुद नाफा

आर्थिक लाइभ
आर्थिक लाइभ ७ कार्तिक २०८१, बुधबार
3 Min Read
Aa

काठमाडौं । चालु आवको पहिलो तीन महिनामा बैंकहरुको वित्तीय विवरणमा उल्लेख्य सुधार भएको देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार २० बैंकले तीन महिनाको अवधीमा १६ अर्ब २३ करोड १८ लाख ९२ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको मुनाफा २१.६५ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आवको यसै अवधीमा यिनै बैंकहरुले जम्मा १३ अर्ब ३४ करोड रुपैयाँ मुनाफा कमाएका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, सो अवधिसम्ममा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस वर्षको सोही अवधिसम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

असोज मसान्तसम्ममा सबैभन्दा कम नाफा भने एनआईसी एशिया बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षको सो अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ८९.०६ प्रतिशत घटेको हो।

पहिलो तीन महिनामा सबैभन्दा धेरै मुनाफा बृद्धि गर्ने बैंकहरुको सूचिमा पहिलो नम्वरमा सिद्धार्थ बैंक परेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

लक्ष्मी सनराईज बैंकको मुनाफा ४२०.५३ प्रतिशतले बृद्धि हुँदा कुमारी बैंकको मुनाफा ३०८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, कृषि विकास बैंकको मुनाफामा पनि व्यापक बृद्धि भएको छ ।

त्यस्तै, हिमालयन बैक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन बैंक, एनआईसी एसिया बैंकको मुनाफा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्