काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेप्सेमा सुचिकृत २० वटा वाणिज्य बैंकहरुले दुई महिनामा कूल १७ अर्ब ६९ करोड २० लाख रुपियाँ खुद नाफा कमाएका छन् ।
आर्थिक वर्षको पहिलो महिना साउनमा ९ अर्ब १७ करोड रुपियाँ नाफा कमाएका बैंकहरुले पछिल्लो महिना थप ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

रिपोर्ट अनुसार ५ वटा बैंकले अर्बमाथि नाफा कमाएका छन् भने बाँकी १५ वटा बैंकले अर्ब तल नाफा कमाएका छन् ।

यस्तो छ, बैंकहरुको नाफाको स्थिति:
संचालनमा रहेका २० वाणिज्य बैंकहरुमा रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक नै अगाडि देखिएको छ । भदौ महिनासम्ममा नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनेमा दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै, इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।
यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् ।
त्यस्तै एनएमबी बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एसिया ५७ करोड ७५ लाख, नेपाल एसबीआइ बैंकले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, कुमारी बैंकको नाफा अर्ब बढी रहेको छ । सबैभन्दा कम नाफा गर्ने माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख कमाएको छ ।




प्रतिक्रिया दिनुहोस्