अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

आर्थिक लाइभ
आर्थिक लाइभ २६ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे । उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको बताए । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको उनले बताए । राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको उनको भनाई छ ।

राष्ट्र बैंकका सीमा, कार्यादेश तथा परिधिभित्र बसेर आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारीमा रहेर मौद्रिक नीतिको अन्तिम तयारीमा आफूहरु जुटेको गभर्नर अधिकारीले बताए । घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे । लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताए । त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने बताए ।

प्रतिक्रिया दिनुहोस्