बैंकहरुमा करिब ११ प्रतिशतले बढ्यो आवासीय व्यक्तिगत घर कर्जाको माग

आर्थिक लाइभ
आर्थिक लाइभ २ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं । बैंकहरुमा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमास (साउन–असोज)सम्मको तथ्यांकबाट यस्तो देखिएको छ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षका असोजसम्म बैंकहरुले ४ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन्। यो शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म बैंकहरुले ३ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो कर्जा १०.८४ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म भने बैंकले ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रदान गरेका थिए। पछिल्लो ३ महिनामा बैंकहरुले थप २२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

बैंकहरुमा घरजग्गा कर्जा (रियल स्टेट लोन)को माग भने खासै बढ्न सकेको छैन। अघिल्लो वर्ष असोजसम्म बैंकहरुले घरजग्गामा २ खर्ब ६८ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा चालु वर्षको असोजसम्म २.८५ प्रतिशतले बढेर २ खर्ब ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्