निक्षेप संकलनमा सामान्य वृद्धि, कर्जा प्रवाहमा उत्साह

आर्थिक लाइभ
आर्थिक लाइभ ६ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलन सामान्य वृद्धि देखिएको छ भने कर्जा प्रवाहमा उल्लेखनीय उत्साह देखिएको छ।

भदौ १ गतेको तुलनामा भदौ २ गते निक्षेप १ अर्ब रुपैयाँले बढेर ७२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल निक्षेप ७२ खर्ब ३६ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरूको निक्षेप संकलन १ अर्बले वृद्धि भई ६४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ खर्ब ५४ अर्ब रुपैयाँमै स्थिर रहेको छ।

यसैबीच, कर्जा प्रवाहमा भने तीव्रता आएको छ। भदौ १ गते ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेको कर्जा भदौ २ गते ५ अर्बले बढेर ५५ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ अर्बले बढेर ४९ खर्ब ६७ अर्ब पुगेको छ भने अन्य वित्तीय संस्थाहरूको कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँमै स्थिर छ।

निक्षेपको तुलनामा कर्जा प्रवाहमा देखिएको वृद्धिले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) मा पनि सुधार ल्याएको छ। भदौ १ गते ७६.१७ प्रतिशत रहेको सिडी रेसियो भदौ २ गते बढेर ७६.२३ प्रतिशत पुगेको छ।

यस अवधिमा अन्तर बैंक ब्याजदर भने स्थिर देखिएको छ। राष्ट्र बैंकका अनुसार भारित औसत अन्तरबैंक ब्याजदर २.६५ प्रतिशतमै यथावत् रहेको छ।

प्रतिक्रिया दिनुहोस्