काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपालको विकास बैंकिङ इतिहासमै पहिलो पटक डेढ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै नयाँ कीर्तिमान स्थापित गरेको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १७ करोड नाफा कमाएको बैंकले यस वर्ष ३०.६९ प्रतिशत वृद्धि गरेको हो। चुस्त व्यवस्थापन, आक्रामक व्यवसाय विस्तार र ग्राहकमैत्री सेवाका कारण यो सफलता हासिल भएको बैंकले जनाएको छ।

बैंकको लाभांश क्षमता २.७६ प्रतिशतबाट बढेर २०.७५ प्रतिशत पुगेको छ भने वितरणयोग्य मुनाफा ६५१.१५ प्रतिशतले बढ्दै १ अर्ब ४६ करोडमा पुगेको छ। यस अवधिमा खुद शुल्क तथा कमिशन आम्दानी ५५ करोड ७६ लाख कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.४७ प्रतिशत बढी हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ७० करोडबाट बढेर २ अर्ब ३० करोड पुगेको छ भने खुद सञ्चालन आम्दानी ३ अर्ब ९७ करोडबाट बढेर ४ अर्ब ६१ करोडमा पुगेको छ। बैंकको रिजर्भ कोष ३ अर्ब ४६ करोड पुगेको छ।
निक्षेप संकलन ६.९८ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६.१० प्रतिशतले बढ्दै ९७ अर्ब ५१ करोडमा पुगेको छ। बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशतमा सीमित छ, जुन राष्ट्र बैंकको मापदण्डभित्रै पर्छ। कस्ट अफ फण्ड भने ६.५४ प्रतिशतबाट घटेर ४.९० प्रतिशतमा झरेको छ।
समीक्षा अवधिसम्म बैंकको सिडी रेसियो ८५.७२ प्रतिशत, रिटर्न अन इक्विटी १३.७२ प्रतिशत, प्रतिसेयर आम्दानी (EPS) २१.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.९५ रुपैयाँ, मूल्य–आम्दानी अनुपात १८.६० गुणा र तरलता अनुपात २५.५७ प्रतिशत कायम भएको छ।
मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि नवप्रवर्तनशील सेवा, दिगो वित्तीय व्यवस्थापन र देशको आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।




प्रतिक्रिया दिनुहोस्