काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्ममा १८५ खर्ब ५८ अर्ब ७० करोड रुपैयाँको तरलता प्रशोचन गरेको जनाएको छ। यो रकम स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) अन्तर्गत १३५ पटकको कारोबारबाट प्रशोचन गरिएको हो।

राष्ट्र बैंकले जेठ मसान्तसम्म ८१ पटक निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ८४ अर्ब ८० करोड रुपैयाँ प्रशोचन गरेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ओभरनाइट तरलता सुविधा मार्फत उपभोग गरेको २ अर्ब ७० करोड रुपैयाँ समायोजन गर्दा कुल तरलता प्रशोचन २१३ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षमा राष्ट्र बैंकले खुला बजार उपकरण मार्फत मात्र ३८ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँको तरलता प्रशोचन गरेको थियो, जुन चालु वर्षको तुलनामा निकै कम हो।
डलर खरिदमार्फत ६७३ अर्बको तरलता प्रवाह
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिद मार्फत चालु आर्थिक वर्षको ११ महिनामा ६७३ अर्ब २५ करोड रुपैयाँको तरलता प्रवाह गरिएको छ। अघिल्लो वर्ष यस्तै कारोबारमार्फत ७८३ अर्ब ४७ करोड रुपैयाँको तरलता प्रवाह भएको थियो।
ब्याजदर घट्दै, कर्जा सस्ता हुँदै
तरलता प्रशोचनका बाबजुद ब्याजदर घट्ने क्रम जारी छ।
९१ दिने ट्रेजरी बिलको ब्याजदर २०८१ असारमा ३ प्रतिशत थियो भने २०८२ जेठमा घटेर २.९४ प्रतिशत मा झरेको छ।
वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर २०८१ जेठमा ६.१७ प्रतिशतबाट घटेर २०८२ जेठमा ४.२९ प्रतिशत मा झरेको छ।
विकास बैंकहरूको ब्याजदर ७.०७ बाट ५.०२ प्रतिशत,
फाइनान्स कम्पनीहरूको ब्याजदर ८.२८ बाट ६.०९ प्रतिशत मा झरेका छन्।
त्यस्तै, वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर १०.१५ बाट ७.९९ प्रतिशत,
विकास बैंकको कर्जा ब्याजदर ११.६३ बाट ९.४० प्रतिशत,
फाइनान्स कम्पनीको १२.८५ बाट १०.२२ प्रतिशत मा झरेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्