काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन, नेपाली धितोपत्र बजारमा बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। आइतबार १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आइतबार बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशत बढेको छ। नेप्सेमा सूचीकृत सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै बैंकिङ्ग उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको हो।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो। त्यस्तै, क्यापिटल एडिक्वेसी फ्रेमवर्कमा संशोधनको घोषणा, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउनु, रेगुलेटरी रिजर्भको रकम टियर टु क्यापिटलमा गणना गर्न पाउनुजस्ता व्यवस्थाले बैंकहरुको नाफा बढाउने भएकोले लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा आकर्षित भएका हुन्।
बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेसँगै नेप्से परिसूचक पनि १०० भन्दा बढी अंक बढेको छ। आइतबार नेप्से परिसूचक ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंक बढेको छ।
आइतबार साताको पहिलो कारोबार दिन नेप्सेमा दुई पटक सर्किट ब्रेक लागेको थियो । बजार खुलेको साढे १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार १ मिनेट पनि नबित्दै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। तर, सोपश्चात खुलेको बजारमा सप्लाई केही बढेपछि तेस्रो सर्किट ब्रेक भने लाग्न सकेन।
नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख ६३ हजार ८१० पटकको कारोबारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आइतबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ।
आइतबार लघुवित्त उपसमूहको परिसूचक मात्र नकारात्मक भएको छ। सो उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ। आइतबार शेयरमूल्य घटेका शीर्ष १० कम्पनीहरुको सूचीमा ७ लघुवित्त कम्पनी रहेका छन्। जसमध्ये गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशत घटेको छ।कोस्।’




प्रतिक्रिया दिनुहोस्