चालु खाता १९३ अर्ब २५ करोडले बचतमा

आर्थिक लाइभ
आर्थिक लाइभ २८ जेष्ठ २०८१, सोमबार
3 Min Read
Aa

काठमाडौं । चालु खाता रु.१९३ अर्ब २५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थिती अनुसार समीक्षा अवधिमा चालु खाता रु.१९३ अर्ब २५ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई रु.५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ९८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।

कति छ विदेशी विनिमय सञ्चिति ?

२०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा रु.१९४२ अर्ब ४० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २४.२ प्रतिशतले वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई रु.१७२२ अर्ब २ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई रु.२२० अर्ब ३८ करोड कायम भएको छ । २०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array