३९ प्रतिशतले बढ्यो रेमिट्यान्स, चैतमा मात्रै भित्रियो २ खर्ब ९ अर्ब

आर्थिक लाइभ
आर्थिक लाइभ २८ बैशाख २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/०८३ को ९ महिनामा नेपाल भित्रने रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आवको ९ महिनामा नेपाल भित्रने रेमिट्यान्स् १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ भित्रिएको हो । गत वर्षको चैत महिनामा १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

पछिल्लो ९ महिनामा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । चालु आवको चैत मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०३ अर्ब १२ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्