काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुबै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने भएका छन् । विदेशी मुद्राको बैंक ग्यारेन्टी सम्बन्धी व्यवस्थालाई सहज बनाउदै केन्द्रीय बैंकले स्वीकृत लिनुपर्ने व्यवस्था हटाएको हो ।

केन्द्रीय बैंकका अनुसार यसभन्दा अघि विड बण्ड तथा प्रफमेन्स बण्ड जस्ता कर्जा प्रवाह नगर्ने प्रयोजनका विदेशी बैंक ग्यारेन्टी मात्रै सिधै स्वीकार गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाले वाणिज्य बैंकहरुले कर्जा लगानी गर्न वा लगानी भएको कर्जाको सुरक्षण गर्नका लागि समेत स्वीकृत लिन नपर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ ।

साथै केन्द्रीय बैंकले बैंकहरुलाई कमिसन दिएर पनि बैंक ग्यारेन्टी लिनसक्ने व्यवस्था गरेको छ । यसरी विदेशी बैंक तथा वित्तीय संस्थाबाट कमिसन दिने गरी बैंक ग्यारेन्टी लिएको खण्डमा केन्द्रीय बैंकको स्वीकृती आवश्यक पर्नेछ । केन्द्रीय बैंकले नेपाली बैंकहरुले बैंक ग्यारेन्टी बापत विदशी बैंकहरुलाई दिन सक्ने कमिसनको अधिकतम सीमा पनि तोकिदिएको छ । केन्द्रीय बैंकका अनुसार नेपाली वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कमिसन दिने गरी लिएको बैंक ग्यारेन्टीमा अधिकतम १.५ प्रतिशतसम्म कमिसन शुल्क दिन सक्छन् ।
विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ अनुसार वाणिज्य बैंकले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत आफै स्वीकार गर्न सक्छन । त्यसका साथै विदेशी पेन्सन फण्ड, हेज फण्ड, सरकारी÷अन्तर–सरकारी स्वामित्वको डेभलपमेन्ट फाइनान्स इन्ष्टिच्यूसन लगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत समेत केन्द्रीय बैंककोे स्वकृती विना स्वीकार गर्न सक्नेछन् ।




प्रतिक्रिया दिनुहोस्