काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले इन्धनमा गरेकाे मूल्यवृद्धि फिर्ता लिएकाे छ। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान सरोकारवाला निकायसँग छलफलपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका हुन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीले निर्देशन दिएको बताए।
चाडबाडकाे समयमा निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टीतेलमा ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँ वृद्धि गरेको थियो।

चाडबाडका वेला नागरिकलाई सहुलियत दिनुपर्नेमा सरकारले खाना पकाउने ग्यासको मूल्य एक महिनामै चार सय ५० रुपैयाँले बढाएर दुई हजार एक सय १० पुर्याएपछि चाैतर्फी आलाेचना भएकाे थियाे।
निगमले १४ भदौमा प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँले वृद्धि गरेकोमा शनिबार पुनः दुई सय १५ बढाएर ग्यासको मूल्य महिनामै एक हजार ६ सय ६० बाट दुई हजार एक सय १० रुपैयाँ पुर्याएको छ।




प्रतिक्रिया दिनुहोस्