असार मसान्तसम्म मर्जर सक्ने बैंकले राष्ट्र बैंकबाट छुट सुविधा पाउने

आर्थिक लाइभ
आर्थिक लाइभ २३ जेष्ठ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा दिंदै आएको छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप गरेको छ ।
चालु आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा २०७९ पुस मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार गर्नेलाई मात्रै सुविधा दिने व्यवस्था गरेको राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै असार मसान्तसम्म एकीकृत कारोबार सुरु गर्नेले विभिन्न ६ वटा सुविधा दिने बताएको छ ।
हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार माघ लागेपछि मात्रै गरेकोले मर्जरमा पाउँदै आएको सुविधा हिमालयन बैंकले पाउने कि नपाउने भन्ने दुविधा थियो । अब हिमालयनसँगै मर्जर प्रक्रियामा रहेका सनराइज र लक्ष्मी बैंकले पनि सहुलियत पाउने भएका छन् ।

‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिनेछ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्