नयाँ स्टक एक्सचेन्जका लागि तीन कम्पनी प्रतिस्पर्धामा

आर्थिक लाइभ
आर्थिक लाइभ १० बैशाख २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा तीन वटा कम्पनीको आवेदन परेको छ । आइतबारसम्ममा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको हो । हिमालय एक्सचेन्जको नाममा गत शुक्रवार नै आवेदन परेको हो भने नेशनल डिलर एक्सचेन्ज र अन्नपूर्ण एक्सचेन्जको नाममा आज (आइतबार) मात्र बोर्डमा आवेदन परेको हो ।
केही दिनअघि मात्र सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जसँगै कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स जारी गर्न पाउने गरी धितो पत्र बोर्डको पक्षमा फैसला गरिदिएको थियो । योसँगै बोर्डले १० दिनको म्याद राखेर नयाँ स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको थियो । तोकिएअनुसार नयाँ स्टकका लागि आवेदन दिने अन्तिम मिति आज हो ।
नयाँ स्टकका लागि परेको तीन वटा आवेदनमा खासगरी उच्च व्यावसायिक घरानाहरूको प्रतिस्पर्धा देखिएको छ । यसअघि नै हिमालयन–रि इन्स्योरेन्सको लाइसेन्स पाई व्यवसाय समेत चलाइरहेका व्यावसायिक ग्रुप शंकर समूहले नै हिमालयन स्टक एक्सचेन्जका लागि आवेदन दिएका छन् । यस ग्रुपमा शंकरलाल अग्रवालसँगै गोल्छा अर्गनाइजेशन एवं नेपाल वाणिज्य उद्योग महासंघको निवर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा लगायतको सहभागिता रहेको छ ।
यस्तै, चर्चित खेतान समूहको राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्याती समूहका शौरभ ज्योती लगायतको समेत सहभागिता रहेको छ ।
यसैगरी आवेदन परेको नेशनल स्टक एक्सचेन्जका लागि गैरवासीय नेपाली संघ (एनआरएनए) हरुको आकर्षण देखिएको छ । दीपक तिमल्सिनाको नेतृत्वमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने र वर्तमान अध्यक्ष कूल आचार्यको समेत संलग्नता देखिएको छ ।
यस्तै एनआरएनए अध्यक्ष बद्री केसी, व्यावसायिक घराना मनोज केडिया, अग्नि ग्रुपका क्याबिनेट श्रेष्ठ लगायतको पनि सो कम्पनीमा सहभागिता रहेको बुझिएको छ ।
अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा अन्नपूर्ण मिडिया हाउसका सञ्चालक क्याप्टेन रामेश्वर थापासहितको टोलीले आवेदन हालेको बुझिएको छ । क्याप्टेन थापा नै प्रमुख रहेन अन्नपूर्ण एक्सचेन्जमा अन्य व्यावसायिक घरानाहरू समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्