काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले २५ वाणिज्य बैंकलाई रकम फिर्ता गर्नका लागि निर्देशन दिएको हो ।
बैंकले रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेका बैंकहरुलाई साधारण सभा आयोजना गर्नका लागि अनुमति समेत दिएको छ । २६ वटा वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन भने अरु २५ वटा बैंकलाई नियम विपरितको रकम फिर्ता गर्नका लागि निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार २५ बैंकले ४ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नियम विपरित असुल गरेको देखिएको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ग्राहकको खातामा नियम विपरित असुल गरेको रकम फिर्ता गर्न सुरु समेत गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक वित्तीय विवरणमा आम्दानी देखाएको ब्याज रकम ग्राहकलाई फिर्ता गर्नु परेको हो ।
बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । उक्त विवरण अध्ययनपछि राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो ।





प्रतिक्रिया दिनुहोस्