काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग करिब ६२ लाख ५४ हजार रुपैयाँको लागतमा सम्झौता गरेको छ।

सम्झौताअनुसार कम्पनीले राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया गरी १० वटा बैंकको लोन पोर्टफोलियो पाँच महिनाभित्र परीक्षण गर्नेछ।

यो कदम अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा उपलब्ध गराइएको विस्तारित कर्जा सुविधासँग सम्बन्धित छ। राष्ट्र बैंकले बोलपत्रमार्फत कम्पनी छानेको थियो र हउलादार युनुसले सबैभन्दा उच्च मूल्यांकन स्कोर पाउँदा परीक्षणको जिम्मा पाएको हो।
कर्जा गुणस्तर परीक्षणपछि बैंकहरूले प्रवाह गरेका ऋणहरूको वास्तविक स्थिति, जोखिम मूल्याङ्कन र सम्पत्ति व्यवस्थापनको स्पष्ट रिपोर्ट तयार हुनेछ।




प्रतिक्रिया दिनुहोस्