काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले गृहकार्य थालेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्ययोजना काम गर्न र आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने बताए ।
महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्ययोजना अनुसार काम गर्दा नेपाल ग्रे लिष्टबाट बाहिर आउनसक्ने बताए ।
बैठकमा नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् । बैठकमा सहभागीहरूले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका थिए । नेपाल गत ९ फागुनमा फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिष्टमा परेको थियो ।




प्रतिक्रिया दिनुहोस्