व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री महतको आग्रह

आर्थिक लाइभ
आर्थिक लाइभ १६ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न आग्रह गरेका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवं सूचना प्रवधिको बृहत प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री महतले आत्मविश्वास बलियो बनाउन आग्रह गरेका हुन् ।

“आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन,” मन्त्री महतले भने, “बिस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरुले ढुक्क भएर लगानी गर्नुहोस् ।”

ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै अर्थमन्त्री महतले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
“अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ” मन्त्री महतले भने, “आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्ने क्षमता बढ्छ ।”

मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको दाबी गरेका महतले आफु अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि रहेकोमा अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको र उपभोक्ताले राहत पाएको दाबी गरे ।

“भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि छ । सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने हाम्रो पालो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौँ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं,” अर्थमन्त्री महतले भने ।

विगतमा तमाम कारणले अर्थतन्त्रमा समस्या भए पनि अहिले सुधारको बाटोमा रहेको उनको दाबी थियो । ब्याजदर छिट्टै एकलविन्दुमा झर्ने बताएका उनले अन्तर्राष्ट्रिय समस्या चर्किएका बेला घरजग्गा र सेयर बजारमा अत्याधिक लगानी भएकाले उत्पन्न समस्या न्युनीकरणका लागि राष्ट्र बैंकले ऋण प्रवाह घटाउँदै ब्याज बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array